सहमतिका लागि खाली पृष्ठमा हस्ताक्षर

९ पुष २०७९, शनिबार १३:५१

नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ । खाली पृष्ठमा शुक्रबारदेखि नै कांग्रेसले आफ्ना सांसदको हस्ताक्षर संकलन गर्न थालेको हो ।

कांग्रेसका एक सांसदले भने,‘नयाँ सरकार गठनमा सहमति गर्ने नेतृत्व लागि परेको छ। शुक्रबारबाट खाली पृष्ठमा सांसदको हस्ताक्षर गर्नेक्रम सुरु भएको हो। मैले हिजो नै हस्ताक्षर गरिसकेको छु।‘

नेपाली कांग्रेस आज दिउँसो बालुवाटारमा सांसदको भेला बोलाएको छ। आजको भेलामा पनि सांसदहरूलाई हस्ताक्षर गर्नेक्रम जारी रहेको रहेको छ। अर्का कांग्रेस सांसदले भने, ‘केहि सांसदले हस्ताक्षर गरिसकेको जानकारी पाएको छु। म पनि बालुवाटारतर्फ जाँदैछु।’

आजको भेलामा नयाँ सरकार गठन र भावी रणनीतिबारे छलफल हुने बताइएको छ। कांग्रेस संसदीय दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो पटक भेला भएको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री पदमा दाबी गर्न पुस १० (आइतबार)सम्म समयसीमा दिएकी छन्। बहुमत पुर्‍याउने दलले आइतबार ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ। धारा ७६ (१) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्न कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएपछि धारा ७६ (२) बमोजिम राष्ट्रपतिले आह्वान गरेकी हुन्। तर कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा दलहरूबीच शनिबार बिहानसम्म सहमति जुटेको छैन।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत पुर्‍याउन १ सय ३८ सिट चाहिन्छ। नेपाली कांग्रेसका प्रत्यक्ष ५७ र समानुपातिकमा ३२ गरी ८९ सिटमा जितेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच को प्रधानमन्त्री बन्ने रस्साकस्सी छ। सहमति नजुटे ‘साथ छोड्ने’ र अर्को गठबन्धन बन्न सक्ने ‘घुर्की’ पनि एकले अर्कोलाई दिइरहेका छन्।

चुनावपछिको सरकारको नेतृत्व आफूलाई दिने ‘पूर्वसहमति’ पालना गर्नुपर्ने प्रचण्डको अडान छ। यता कांग्रेस भने चुनावमा पहिलो पार्टी बनेकाले सरकारको पहिलो नेतृत्व कांग्रेसले गर्नुपर्ने अडानमा यथावत् छ। पहिलो दुई वर्ष देउवा र त्यसपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने ‘कार्ड’ कांग्रेसले खेलिरहेको छ। तर प्रचण्ड भने कुनै हालतमा पनि आफू पहिलो दुई वर्ष प्रधानमन्त्री बन्नैपर्ने अडान राखिरहेका छन्।