नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्वमा आलोपालो गर्ने गोप्य सहमति भए स्वीकार्य नहुने बताएका छन्।
संसदीय दलको मतपरिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले बन्द र अँध्यारो कोठामा गरिने सहमति नेपाली कांग्रेसले बोक्न नसक्ने बताएका हुन्।
उनले भने, कांग्रेसले संस्थागतरुपमा कुनै दलसँग आलोपालो सहमति गरे स्वीकार्य हुन्छ। तर, गोप्यरुपमा सहमति भएमा पार्टीले त्यसलाई बोक्न सक्दैन। भोलि कांग्रेसले धोका दियो भने कसैले भन्न पाउँदैन।
थापाले पार्टीभित्र राष्ट्रपति,प्रधानमन्त्रीलगायत विभिन्न पदमा छलफल गरेर पारदर्शी ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिए। पार्टीको संसदीय दल र आधिकारिक समिति वेगर छलफल भए त्यो व्यक्तिगत हुने उनको भनाइ छ।
उनले आजबाट नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पहल गर्ने बताए। महामन्त्री थापा कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति देउवासँग पराजित भएका छन्। देउवाले ६४ मत ल्याउँदा गगनले २५ मत प्राप्त गरे।
