कांग्रेसबाट प्रधानमन्त्रीका लागि प्रतिस्पर्धामा देउवा र थापा, पौडेल आउट

५ पुष २०७९, मंगलवार १३:४५

नेपाली कांग्रेसमा प्रधानमन्त्रीको रेशबाट वरिष्ठ नेता रामचन्द्र पौडेल आउट भएका छन् । यसअघि उनी सभापति देउवासँगै पौडेल र महामन्त्री गगन थापाले प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताउँदै आएका थिए । त्यसका लागि उनले पछिल्लो समय राजनीतिक भेटवार्ता र संवादलाई तीव्रता दिएका थिए ।

नेताहरुबीच भएको पछिल्लो सहमति अनुसार कांग्रेस संसदीय दलको नेताका लागि नै पौडेल प्रतिस्पर्धामा नआउने भएपछि उनी प्रधानमन्त्रीको रेशबाट पनि आउट भएका हुन् । कांग्रेसमा दलको विधान अनुसार दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ ।

दलको नेताका लागि कांग्रेसमा पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि नेता शेखर कोइरालाले समेत संसदीय दलको नेता बन्ने चाहना राखेका थिए । तर सोमबार र मंगलबार दुई दिन भएको थापा र कोइराला समूहको बैठकले थापालाई दलको नेतामा अघि सार्ने सहमति गरेका छन् ।

नेता शेखर कोइराला र गगन थापा समूहको बैठकले थापालाई कांग्रेसको देउवा इतर समूहबाट संसदीय दलको नेतामा उम्मेदवार उठाउने सहमति भएसँगै देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो ।