आफूलाई प्रधानमन्त्री बनाउन प्रचण्डको देउवालाई आग्रह

२ पुष २०७९, शनिबार १५:४६

प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गठबन्धनका तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटघाटमा अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव देउवासंग राखेका हुन् । गठबन्धनकै सहयोगमा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराएको र गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको भन्दै अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि सहयोग गर्न अध्यक्ष प्रचण्डले आग्रह गरेको बताइएको छ ।

प्रचण्डको नीजि सचिवालय स्रोतका अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा यसरी सहयोग गर्न देउवासमक्ष औपचारिक रुपमा भनेको यो पहिलो पटक हो । यसअघि प्रचण्डले विभिन्न औपचारिक मञ्चहरूमा प्रधानमन्त्रीमा आफ्नो दावी गर्दै आएका थिए ।

आजको भेटमा भने प्रधानमन्त्री समक्ष प्रस्ताव नै राखेको बताइएको छ । जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनमा यो विषयमा छलफल गर्ने भनि जवाफ दिएको स्रोतले जनाएको छ । ‘गठबन्धनमा जे सहमति हुन्छ त्यो अनुसार अगाडि बढ्न आफू तयार रहेको धारणा प्रधानमन्त्री देउवाले राख्नुभयो’ स्रोतले भन्यो ।

अगामी सरकारको नेतृत्व आफूले नै गर्ने संकेत प्रधानमन्त्री देउवाले गर्दै आइरहेका छन् । आफ्ना निकट नेताहरूसँग यो अन्तिम पटक आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने उनले बताउँदै आएका छन् । तर औपचारिक रुपमा कतै यो विषयमा धारणा राखेका छैनन् ।