कसको नेतृत्वमा बन्ला सरकार ?

१ पुष २०७९, शुक्रबार १५:१७

यही मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पश्चात मुलुकमा नयाँ सरकार गठन हुदैछ ।

विभिन्न ठूला राजनितिक दलहरुको ध्यान सरकारको नेतृत्व (प्रधानमन्त्री) मा रहेको छ । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन कुमार थापा लगायत अन्य नेताहरुले पनि प्रधानमन्त्रीको दावी गरेका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रधानमन्त्रीको दावी गरिरेका छन् । । ०७४ सालको जस्तै यसपटक पनि माओवादी केन्द्र तेस्रो शक्तिका रूपमा संसद्‌मा उपस्थित छ ।

यद्यपि उसले सरकारको नेतृत्व पाउनुपर्ने दाबी भने छाडेको छैन । संसद्‌मा ३२ सिट जितेको माओवादी केन्द्र वर्तमान सत्ता गठबन्धनको समर्थनमा आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहेको छ ।

तर, त्यो मान्न प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार देखिँदैनन् । उनले संसद्को सबैभन्दा ठूलो दल भएको नाताले पहिलो साढे दुई वर्ष आफू प्रधानमन्त्री हुनुपर्ने दाबी मात्रै गरिरहेका छैनन्, त्यसैगरी ‘बार्गेनिङ्ग’ गर्न आफूनिकटका नेताहरूलाई निर्देशनसमेत दिएका छन् ।

प्रवक्ता प्रकाशशरण महतले भनेका छन्, ‘कांग्रेसकै नेतृत्वमा सरकार बन्छ । दायाँबायाँ हुँदैन । गठबन्धनमा सैद्धान्तिक सहमति छ, त्यहीअुनसार कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।’

तर, प्रचण्ड कांग्रेसको अडानलाई अस्वाभाविक ठान्छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुईपटक संसद् विघटन गरेपछि आफूले नै देउवालाई प्रधानमन्त्री बनाएको भन्दै यसपटक आफूले पाउनुपर्ने अडानमा प्रचण्ड छन् ।

यसबारे उनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत प्रस्ताव पठाएका छन् । उनले पौडेललाई ‘प्रधानमन्त्रीमा मलाई सहयोग गर्नुस्’ भनेर प्रस्ताव गरिसकेका छन् ।

स्रोतहरूकाअनुसार प्रचण्डले सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि सोही प्रस्ताव गरेका छन् । यसपछि उनले ‘एमाले कार्ड’ खेल्न सुरू गरेका छन् ।

गत बुधबार मात्रै उनले महासचिव देवप्रसाद गुरुङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोट पठाए । उनीहरूबीच सत्ता सहकार्यसम्मको विषयमा कुराकानी भएको बताइन्छ ।

त्यसको ‘काउन्टर’को रूपमा कांग्रेस नेताहरू पनि एमालेसँग संवादमा छन् । ती संवादमा रहेका नेताहरूकाअनुसार एमाले नेताहरूले कांग्रेसलाई ‘ग्रीन सिग्नल’ दिएका छन् । ‘कांग्रेसले एक्लै सरकार बनाए हामीले समर्थन गर्नेछौँ भनेर कुरा नआएका होइनन् एमालेका साथीहरूबाट । उहाँहरूले हामीले पनि समर्थन गर्दा इजी मेजरिटी बन्छ भन्नुभएको छ । तर, सभापतिजी त्यसो गर्न तयार हुनुहुन्न,’ एमालेसँग संवादमा रहेका कांग्रेसका एक नेताले भने ।

कांग्रेस र माओवादी केन्द्रले एमालेलाई ‘बार्गेनिङ्ग टूल्स’ बनाएका छन् । राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईं कांग्रेस र माओवादी केन्द्रले हाक्काहाक्की पदको बार्गेनिङ्ग गर्न थालेको बताउँछन् ।

यो शुभ संकेत नरहेको उनको भनाइ छ । ‘कांग्रेस र माओवादी केन्द्र देखादेखी प्रधानमन्त्रीको बार्गेनिङ्गमा लागेका छन् । एमाले देखाएर उनीहरूले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने भनिरहेका छन्, यो सिङ्गो मुलुक र व्यवस्थाका लागि शुभ होइन । मुलुकलाई पदीय सम्झौतामा हुत्याउनु ठिक होइन,’ उनले भने ।