एमालेको एक्लै ७८ सिट अन्य दलको कति ?

२९ मंसिर २०७९, बिहीबार १२:५८

मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रतिवेदन निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ।

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा निर्वाचनको अन्तिम परिणाम सहितको प्रतिवेदन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बुझाएका हुन्। निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिणाम सार्वजनिक गरेको थियो।

संवैधानिक व्यवस्था अनुसार, राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएपछि सरकार गठनको प्रक्रिया अघि बढ्छ। संयुक्त सरकार बनाउने भए पुस २८ गतेभित्र गठन गरिसक्नुपर्छ। त्यति वेलासम्म संयुक्त सरकार गठन नभए सबैभन्दा ठूलो दलले अल्पमतको सरकार बनाउँछ।

संविधानको धारा ७६ को उपधारा १ मा राष्ट्रपतिले बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। त्यसपछि प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुन्छ।

अहिले कुनै पनि दलले बहुमत प्राप्त गरेका छैनन्। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ सीट आवश्यक हुन्छ। नेपाली कांग्रेसले ८९, नेकपा (एमाले) ले ७८, नेकपा (माओवादी केन्द्र)ले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले २०, राप्रपाले १४, जनता समाजवादी पार्टीले १२, नेकपा (एकीकृत समाजवादी)ले १०, जनमत पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीले १–१ सीट जितेका छन्। त्यस्तै, पाँच जना स्वतन्त्र उम्मेदवार निर्वाचन भएका छन्।