हिजोको बस दुर्घटनामा मृत्यु हुनेको धेरै संख्या तामाङ परिवारका

२८ मंसिर २०७९, बुधबार १२:२८

काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ को चलाल गणेशस्थानमा हिजो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार तीमध्ये ७ जना एउटै वडाका छन् । मृतक ७९ वर्षीया निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ,५० वर्षीय अंकुर तामाङ,४३ वर्षीया हेमा तामाङ,१० वर्षीय पुष्कर तामाङ,२५ वर्षीया कोपिला तामाङ र ६ वर्षीया श्रेया तामाङ बनेपा नगरपालिका वडा नं ११ का हुन् । मृतकमध्ये १३ जनाको पहिचान भएको छ।

अन्य,मृत्यु हुनेमा बनेपा १४ का ३९ वर्षीय राजकुमार तामाङ,२८ वर्षीया गीता श्रेष्ठ,मण्डनदेउपुर नगरपालिका १ की ३७ वर्षीया जेली तामाङ,धुलिखेल ११ का ३० वर्षीय बुध्द तामाङ र बेथानचोक ५ का ३२ वर्षीय मञ्जु तामाङ छन् । बस चालक ललितपुरको महांकाल४ घर भई हाल पनौती ४ बस्ने २२ वर्षीय सन्तोष तिमल्सिनाको समेत मृत्यु भएको छ ।

मृतकमध्ये ४ जनाको नाम नखुलेको प्रहरी प्रमुख जोशीले जानकारी दिए। बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस हिजो मंगलवार राति दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते २२ जनाको धुलिखेल अस्पताल,बनेपाको शिर मेमोरियल अस्पताल, मध्यपुर थिमि अस्पताल,वीर अस्पताल र न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ। बसमा ३९ जना सवार थिए ।