कर्णाली प्रदेश सभामा ५ दलबाट १ पुरुष १५ महिला समानुपातिक सांसद

२८ मंसिर २०७९, बुधबार ११:५४

कर्णाली प्रदेश सभाका १६ समानुपातिक सांसदको टुङ्गो लागेको छ । ४० प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा प्रत्यक्षतर्फ २४ र समानुपातिक तर्फ १६ सांसद चुनिने गर्दछन् ।

प्रत्यक्षतर्फ कुनैपनि महिलालाई उम्मेदवार नबनाएका दलहरुले समानुपातिक कोटाबाट ३३ प्रतिशत महिला सहभागितालाई सुनिश्चित गरेका छन् । १६ समानुपातिक सांसद मध्ये १५ जना महिला छन् भने एक जना मात्र पुरुष रहेका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट हुम्लाकी जुम्किता लामा कार्की, कालिकोटकी यशोदा न्यौपाने, रुकुम पश्चिमकी मिलन खड्का रोका र डोल्पाकी उर्मिला विकलाई समानुपातिक सांसद बनाएको छ ।

नेपाली कांग्रेसबाट सुर्खेतको वीरेन्द्रनगरकी जानकी सिंह (खसआर्य महिला), दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी इन्द्राकुमारी शाही (पिछडिएको क्षेत्र), हुम्लाकी बिजया बुढा (खसआर्य), सल्यानकी लक्ष्मी सुनार (दलित) र जनजातिबाट सुर्खेतकी बलिमाया बुढा (आदिबासी जनजाती) समानुपातिक सांसद बनेकी छन् ।

यस्तै एमालेबाट खसआर्य कोटाबाट कालिकोटकी दक्षिणा शाही, रुकुम पश्चिमकी तुलसा मल्ल, पिछडिएको क्षेत्रबाट हुम्लाका कलबहादुर हमाल, दैलेख आठबीस नगरपालिकाकी गमता विक (दलित) र आदिवासी जनजाति कोटाबाट सुर्खेतकी नन्दा गुरुङ चयन भएका छन् ।

नेकपा (एकीकृत समाजवादी) बाट रुकुम पश्चिमकी कल्याणी खड्का महिला खसआर्य कोटाबाट समानुपातिक सांसद चयन भएकी छन् । समाजवादीको रुकुम जिल्ला कमिटीकी उपाध्यक्ष रहेकी खड्का केन्द्रीय परिषद् सदस्य समेत हुन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुर्खेतकी सन्तोषी शाही ठकुरी सांसद बनेकी छन् । राप्रपाको युवा संगठनको केन्द्रीय सदस्य, केन्द्रीय सचिव र सोही संगठनको कर्णाली प्रदेश संयोजकको भूमिका निर्वाह गरिसकेकी युवा नेतृ शाही अहिले राप्रपाको केन्द्रीय सदस्य छन् ।