प्रचण्डलाई दवाबमा राख्न अपराधीलाई छुटाए देउवाले: रिजाल

२६ मंसिर २०७९, सोमबार ११:०७

जेलमा रहेका अपराधीलाई छुटाएर प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बनाउन लागेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले आरोप लगाएका छन् ।

नेकपा माओवादी केन्द्र बिनै बहुमत पुर्याउने गरी प्रचण्डलाई दवाबमा राख्न चौधरीलाई रिहाइ गरेर एक तीरले दुई शिकार गर्दा संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको लज्जा उत्रिएको उनले आरोप लगाए ।

‘सत्ताका सदाबाहार सौदागर शेरबहादुर देउवाले यसपटक जेजमा रहेका अपराधीलाई छुटाएर सरकार बनाउन लाग्नुभएको छ’, सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘माओवादीबिनै बहुमत पुर्याउने गरी प्रचण्डलाई दवाबमा राख्न रेशम चौधरीलाई रिहाइ गरेर एक तीरले दुई शिकार गर्दा संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको लज्जा उत्रिएको यसभन्दा शर्मनाक कुरा अरु के हुन्छ र ?’

इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएर, सांसद किनेर, राजाका बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाएर– जे गरेर भए पनि सत्तामा पुग्ने देउवाले विशेषज्ञता हासिल गरेको उनको टिप्पणी छ।