नेकपा (एमाले) सचिवालयको चौधौँ बैठक शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ ।
निर्वाचन परिणाम र पार्टीको आगामी कार्यभारका विषयमा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले धारणा प्रस्तुत गरेका थिए ।
उनलेले मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचन परिणामबाट मुलुक अस्थिरता तर्फ जाने अवस्था देखिएको बताउँदै क्षयीकरण भइरहेको सामाजिक मूल्य मान्यता र आर्थिक सङ्कटतर्फ धकेलिएको मुलुकलाई सही बाटोमा ल्याउन पार्टीले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
बैठकले पार्टीविरुद्धमा लाग्ने स्थायी कमिटी, केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरूलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेहरूमा स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साह, केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह (रौतहट), कुन्दन कुशवाह (रौतहट), रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गंगा चौधरी (दाङ), टेकबहादुर बलम्पाकी मगर (महोत्तरी), केन्द्रीय निकायका वाङ्दी शेर्पा (ताप्लेजुङ), खेम सुवेदी (कञ्चनपुर), भक्तबहादुर अधिकारी (कञ्चनपुर), लक्ष्मी साह (कैलाली) रहेका छन् ।
समानुपातिकतर्फको बन्द सूचिमा नाम रहेकी जैनव खातुन पनि पार्टी विरोधी गतिविधिमा लागेकाले निजको नाम सूचिबाट हटाइएको छ ।
बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको अन्तिम सूचि निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।
आयोगले दलहरूलाई बन्द सूचिभित्रबाट विभिन्न क्लष्टरमा रहेका नाममध्ये अन्तिम नामावली पठाउन आजसम्मको समयसीमा निर्धारण गरेको थियो ।
मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा (एमाले) ले समानुपातिकतर्फ सर्वाधिक मत प्राप्त गरेको छ । सो अनुसार एमाले बाट प्रतिनिधि सभा सदस्यमा ३४ जना र सात प्रदेश सभामा ७० जना प्रदेश सभा सदस्य गरी १०४ जना निर्वाचित हुने छन् । प्रदेश–१ मा १५ जना, मधेश प्रदेशमा ८ जना, बाग्मतीमा–१४ जना, गण्डकीमा–१० जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ५ जना र सुदूरपश्चिममा–७ जना निर्वाचित हुने भएका छन् ।
