संघीयता खारेज गर्नुपर्छ: विप्लव

२३ मंसिर २०७९, शुक्रबार १६:२६

मुलुकमा संघीयताको औचित्य नभएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बताएका छन्।

वर्तमान संघीयता जनताका लागि नभई नेता व्यवस्थापनको मात्र भएकाले मुलुकमा संघीयताको औचित्य नभएको कपिलवस्तुमा आयोजित कार्यक्रममा बोल्दै नेता विप्लवले बताएका हुन्।

साक्षात्कार कार्यक्रममा महासचिव चन्दले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरुको औचित्य नभएको प्रस्ट पारेको बताए। उनले राज्य आर्थिक संकटको भुमरीमा फसेकोले राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंकाभन्दा थप संकटमा पर्ने उल्लेख गरे।

उनले आफूहरूले थालेको क्रान्ती मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ती गरी देशको स्वाधीन अर्थतन्त्रको क्रान्ती गरेको प्रष्ट पारे। महासचिव चन्दले भर्खरै सम्पन्न मंसिर ४ को निर्वाचनले जनतामा खुसी, उल्लास नछाएको भन्दै दल र दलका नेताहरू सुध्रिनुपर्नेमा जोड दिए।

उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा तीन बुँदे सहमति भएको र वर्तमान सरकारसँग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भइरहेको बताए।