एमालेले १९ महिला र १५ पुरुषको नाम पठाउने तयारीमा

२३ मंसिर २०७९, शुक्रबार १४:०८

शुक्रबार १ बजे बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ।

एमालेले आजको बैठकबाट समानुपातिक सांसदको टुंगो लगाउने तयारी गरेको थियो, तर अन्तिम समयमा बैठक नै स्थगित भएको छ ।

समानुपातिकतर्फ एमालेले ३४ सिट पाएको छ। एमालेले ३४ सिटको फाइनल गर्ने तयारी गरिरहेको छ । तयारी नपुगेपछि अन्तिम समयमा आएर शुक्रबारको १ बजेको बैठक स्थगित भएको हो । अध्यक्ष केपी शर्माको ओलीको निवास बालकोटमा दिउँसो १ बजे बैठक बोलाइएको थियो, तर तयारीको लागि बैठक स्थगित भएको हो ।

यो बैठकमा समानुपातिकतर्फका सांसद छनोट गर्ने भनिएपनि त्यो पूरा हुन सकेन । एमालेलाई समानुपालिक सांसद छनौटको लागि सकस भएको र थप तयारी गर्न परेको हुनाले बैठक स्थगित भएको बुझिएको छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको नाम पठाउन निर्देशन दिएको छ, तर एमालेले नाम फाइनल गरिसकेको छैन । नेकपा एमालेको प्रतिनिधि सभा र प्रदेश सभाका १०२ जना समानुपातिक सांसद हुनेछन् । निर्वाचन आयोगले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको नाम सार्वजनिक गरिसकेको छ ।

समानुपातिकको नाम फाइनल गरिनसकेको हुनाले एमालेले शुक्रबार बैठक बोलाएको थियो । एमालेले प्रतिनिधि सभातर्फ ३४ र प्रदेश सभातर्फका ६८ गरी १०२ जना समानपातिकबाट निर्वाचित हुने नाम निर्वाचन आयोगलाई पठाउन लागेको छ ।

प्रतिनिधि सभाको समानुपातिकमा एमालेले ३४ मध्ये १९ जना महिला र १५ जना पुरुषको नाम पठाउने तयारी गरेको छ ।