नेकपा एमाले प्रतिपक्षमा बस्ने एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताएका छन् । शुक्रबार बुटवल कालिका क्याम्पसको नवौं वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा मंसिर ४ को चुनावले जनादेश अनुसार एमाले प्रतिपक्षमा बस्ने उनले बताएका हुन् ।
माओवादी केन्द्र र अरु दलसँग मिलेर सरकारमा जाने सम्भावनाबारे पत्रकारको प्रश्नमा उपाध्यक्ष पौडेलले त्यस्तो खेलमा एमाले नलाग्ने बताए । पौडेलले भने, ‘एमाले केही सिटले दोस्रो पार्टी बनेको छ, यो जनादेशको सम्मान गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउँछौं ।’
नेता पौडेलले सरकार बनाउनेबारे एमालेले कसैसँग छलफल नगरेको दोहोर्याए । चुनावको परिणामबारे पार्टीले छिट्टै समीक्षा गर्ने पौडेलले बताए । एमाले प्रतिपक्षमा रहे पनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजनाहरु पूरा गर्न भूमिका खेल्ने पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले बताए ।
बुटवलबाट प्रदेशका मन्त्रालय लगायत संरचनाहरु पूर्वाधार नबन्दै अस्थायी मुकाम दाङमा लैजाने कार्य गलत भएको उनले टिप्पणी गरे ।
