एमालेले तत्काल सरकार गठनका लागि औपचारिक पहल नगर्ने

२१ मंसिर २०७९, बुधबार ११:२४

निर्वाचन आयोगले औपचारिक रूपमा चुनावी परिणाम सार्वजनिक गरेपछि मात्रै नेकपा एमालेले निर्वाचनको समीक्षा गर्ने भएको छ ।

सत्तारूढ गठबन्धनले चुनावको प्रारम्भिक समीक्षा गर्दै शक्ति बाँडफाँड केन्द्रित छलफल प्रारम्भ गरे पनि एमालेले भने केही समयपछि मात्रै चुनावको समीक्षा गर्ने निष्कर्षमा पुगेको हो ।

तत्कालका लागि सरकार गठनका लागि औपचारिक पहल नगर्ने एमालेको भनाइ छ। तर गठबन्धन भत्किए अग्रसरता देखाउने नीति एमालेले अख्तियार गरेको छ । माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरू अहिलेकै गठबन्धनका पक्षमा उभिएकाले केन्द्रदेखि प्रदेशसम्मका शक्ति बाँडफाँडमा किचलो देखिएर गठबन्धन भत्किने अवस्थामा मात्र एमाले सरकार गठनका लागि अग्रसरता देखाउने नीति अख्तियार गरेको हो ।

त्यही कारण एमालेले औपचारिक बैठक बोलाएर चुनावी समीक्षा र वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको भूमिकाबारे छलफल गर्न नहतारिएको एक पदाधिकारीले बताए । सचिव रघुवीर महासेठले पनि निर्वाचन आयोगले औपचारिक रूपमा चुनावको परिणाम सार्वजनिक गरिसकेपछि मात्र अध्यक्षले पार्टी बैठक बोलाउने बताए ।

निर्वाचन आयोगले पुसको पहिलो साताभित्र परिणाम सार्वजनिक गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने गरी काम बढाइरहेको छ । परिणाम सार्वजनिक नभएसम्म सरकार गठन प्रक्रिया अघि नबढ्ने भएकाले चुनावको समीक्षासहित पार्टीको भूमिकाबारे धारणा तय गर्नुपर्ने अवस्था नरहेकाले अध्यक्ष केपी ओली पार्टीका नेता–कार्यकर्ताहरूसँगको आन्तरिक भेटघाटमै व्यस्त देखिएका छन् ।