कांग्रेस नेता प्रकाशमान सिंहमार्फत् सभापति शेरबहादुर देउवालाई ‘कांग्रेस–एमाले संयुक्त सरकार’ बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले सन्देश पठाएको समाचार बाहिरिएको छ।
नेता सिंह विजयी भए लगत्तै विपक्षी नेता ओलीलाई भेट्नु जानुको रोचक कारण भएको स्रोतले जनाएको। चुनावअघि काठमाडौं–१ पनि झापामा राजेन्द्र लिङ्देन र रुपन्देहीमा दीपक बोहरालाई जस्तै रवीन्द्र मिश्रलाई समर्थन गर्ने कि भन्ने सोचमा ओली थिए । त्यसका लागि मिश्रले बालकोट गएर भेटेरै ओलीबाट आश्वासन पाएका थिए ।
तर, अन्तिम समयमा ओली यो निर्णयबाट फिर्ता भए । एमालेले काठमाडौं–१ मा ‘लो प्रोफायल’ उम्मेद्वार किरण पौडेललाई उठायो । अन्तिम समयमा ओलीले निर्णय बदल्नुको कारण हो प्रकाशमान सिंहको फोन आग्रह । सिंहले ओलीलाई मिश्रलाई समर्थन नगर्न, आफ्नै उम्मेद्वार उठाउन आग्रह गरेका थिए ।
सिंहको अनुमान सही निस्कियो । एमालेले मिश्रलाई समर्थन गरिदिएको भए सिंहको हार निश्चित थियो । यही उपकारका लागि ओलीलाई कृतज्ञता व्यक्त गर्न सिंह बालकोट गएका थिए । तर, ओली र सिंहबीच देशको राजनीतिक परिस्थितिबारे विचार विमर्शसमेत भयो ।
त्यही क्रममा ओलीले सिंहलाई टालाटुली बटुली, पुतलीजस्तो सरकार बनाउन लाग्नुको साटो यदि कांग्रेस सकारात्मक हुन्छ भने ‘कांग्रेस– एमाले कै संयुक्त सरकार बनाऔं, यसबारे देउवाजीको सोच के कस्तो हुन्छ, बुझ्न’ आग्रह गरेका थिए ।
ओलीको यो प्रस्तावले पहिलो दल भएर पनि एमालेमा निरासा छाएको प्रष्ट हुन्छ । एमाले गत चुनावमा भन्दा प्रत्यक्षतर्फ करिब आधा घटेको छ ।समानुपातिकतर्फको भोट पनि खासै उत्साहजनक हैन । करिब ६.५ प्रतिशतले कम भएको छ ।
