देउवा संसदीय दलको नेतामा उठ्दै

२० मंसिर २०७९, मंगलवार १३:५७

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेतामा उठ्ने तयारी गरेका छन् ।

उनले संसदीय दलको नेता बन्न चाहेकाले नेताहरूसँग सहयोगका लागि आग्रह समेत गरेका छन् । मंगलवार बिहान पूर्वमहामन्त्री डा.शशांक कोइरालासँग देउवाले संसदीय दलको नेतामा आफूलाई समर्थन गर्न प्रस्ताव गरेका हुन् । पूर्वी नवलपरासीबाट लगातार चौँथो पटक चुनाव जितेका कोइराला देउवासँग बधाइ साट्न बिहान बालुवाटार पुगेका थिए ।

कोइरालाका सहयोगी भरत तिवारीले देउवाले संसदीय दलको नेतामा सहयोग गर्न आग्रह गरेको जानकारी दिए । तिवारीले भने सभापतिज्यूले संसदीय दलको नेतामा उठ्ने तयारी गरेको र समर्थन गर्न आग्रह गर्नुभयो । शशांक दाइले बधाइ दिन मात्र आएको हो भन्नुभयो ।’

विगतमा देउवा इतरको प्यानलबाट चुनाव लडेर महामन्त्री भएका शशांक कतै खुलेका छैनन् । देउवालाई भेटेलगत्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शशांकलाई भेटेका थिए ।

शशांकलाई भेट्न पौडेल कोइराला निवासमा पुगेका थिए । संसदीय दलको नेताका लागि पौडेलले पनि दौडधूप गरिरहेका छन् । उनले भने ‘रामचन्द्र दाइसँग पनि भेट भएको हो, आजै शेखर दाइसँग पनि भेट्ने कुरा थियो । शेखर दाइ विराटनगर जानु परेकोले आज सम्भव भएन । सबै भेटमा बधाइ साटासाट मात्र भएको छ ।’

नेपाली कांग्रेसभित्र अरु नेताहरु महामन्त्री गगन थापा, रामचन्द्र पौडेललगायतले संसदीय दलको नेताका लागि आकांक्षा देखाएका छन् ।