आज सत्ता गठबन्धनको बैठक बस्दै

१९ मंसिर २०७९, सोमबार ०८:३६

प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्ता गठबन्धनको बैठक बस्दै छ।

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले जानकारी दिए अनुसार चुनावी परिणाम र नयाँ सरकार गठनबारे छलफल गर्न बैठक बस्न लागेको हो। शनिवार र आइतवार माओवादी केन्द्रको पदाधिकारीको बैठक बसेको थियो।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र राष्ट्रिय जनमोर्चा छन्। लोसपाले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनसँग चुनावी तालमेल गरेको थियो।

मंसिर ४ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले ५७, माओवादी केन्द्रले १७, एकीकृत समाजवदीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन्।