नेकपा एमालेकी नेतृ पदमा कुमारी अर्यालले स्याङजा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका सभपाति धनराज गुरुङलाई बधाई दिएकी छन् ।
स्याङ्जा २ मा जनताले मतदान गर्ने सन्दर्भमा केही बुथ कब्जा भएको साक्षीका रुपमा कयौं प्रमाण स्वरुप भिडियो सार्वजनिक भएका उनले बताईन् ।
नेतृ अर्यालले मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको पनि उल्लेख गरेकी छन्। उन सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकी छन्,
“श्री धनराज गुरुङ जी,
स्याङ्जा २ को प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा तपाईंको उपस्थिति हुँदैगर्दा तपाईंलाई हार्दिक
बधाई छ । म र म आवद्ध पार्टी नेकपा (एमाले) को तर्फबाट एउटा प्रश्न गरिएको थियो । स्याङ्जा २ मा जनताले मतदान गर्ने सन्दर्भमा केही बुथ कब्जा भए, पुनः मतदान गरौं ।
साक्षीका रुपमा कयौं प्रमाण थिए, भिडियो सार्वजनिक भएकै थियो , मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरिएको थियो । हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजित हुन तयार छौं , त्यसलाई हामी सहज रुपमा स्विकार गर्दछौं तर कब्जा गरि खसालिएको मतलाइ हामी स्वीकार गर्दैनौं । किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन । हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन ।
खैर तपाईंलाई पुनःबधाईछ ।
आगामी दिनमा लोकतन्त्रको मुल्य मान्यता तपाईंबाट अपहरित नहोस् । युवाहरुको जोश जाँगरलाई उत्पादनशील एवम् सृजनशील कार्यमा लगाएर राष्ट्रको सेवक बनाउन सहयोग पुर्याउन सक्नुहोस, न की निर्वाचनमा आफ्नो स्वार्थ अनुकूल उनिहरुलाइ दुरुप्रयोग गरि प्रतिस्पर्धी माथि हमला गर्न लगाउँदै, आतंक सृजना गरि बुथ कब्जा गर्ने जस्तो दुश्कर्म गर्न नलगाउनुहोस ।
मैले तपाईंलाई सालीन एवम् लोकतन्त्र माथि विश्वास गर्ने एउटा नेताको रुपमा बुझेको थिएँ । निर्वाचनका दिन चापकोटको केही बुथमा भएका निर्मम दृश्यले तपाईंप्रतिको मेरो बुझाइ झुठो प्रमाणीत गरिदियो । स्वस्थ प्रतिस्पर्धामाथि विश्वास गर्न सक्नु भएन, दर्जनौं प्रमाणहरुले त्यही बताइरहेका छन ।
खैर अब तपाईंसँग धेरै गुनासो गर्नु पनि छैन । सबैकुरा भुलेर जनताको सेवा गर्न , स्याङ्जाको विकास निर्माणमा सहकार्य गरि अगाडि बढ्न प्रतिबद्ध छु । हामीले अगाडि बढाएका कयौं योजनाहरु छन, तिनलाई पुर्णता: दिन मिलेर अगाडि बढौं, नयाँ थप योजनाहरु आवस्यक छन त्यसका लागि हरदम साथ दिन तयार छु ।राजनीति पेसा होइन सेवा हो, निरन्तर जनताको विचमा हुनेछु । अन्त्यमा तपाईंको कार्यकाल सफल होस । शुभकामना !!”
