शुक्रबार राति भएको आईसीसी विश्वकप लिग– २ को त्रिदेशीय सिरिजअन्तर्गतको नेपाल र नामिबियाबीचको एकदिवसीय अन्तराष्ट्रिय खेल नतिजाविहीन सकिएको छ ।
वर्षाको कारण प्रभावित हुँदा उक्त खेल नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा भएको नतिजाविहीन सकिएको हो ।खेल नतिजाविहीन बनेसँगै नेपाल र घरेलु टोली नामिबिया दुवैले १–१ अंक पाएका छन्।
नेपालले दिएको १९८ रनको लक्ष्यसहित नामिबियाले जवाफी ब्याटिङ गरिरहेका खेल वर्षाले रोकिएको थियो । वर्षाले खेल रोकिनुअघि नामिबियाले ४ बलमा ४ रन जोडेको थियो।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १९७ रनमा समेटिएको थियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको योगदान दिए।
उनले ९४ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ७५ रनको योगदान दिएका हुन्। त्यस्तै अर्जुन साउदले र गुलशन झाले समान १८–१८ रन जोडे भने आसिफ शेखले २० रन बनाए। कप्तान रोहित पौडेल १० रनमा रन आउट भए। कुशल भुर्तेलले १३ तथा सोमपाल कामी १० रनमा आउट भए।
नामिबियाका टांगेनी लंगामेनीले तीन विकेट लिए भने कार्ल बिरकेनस्टोकले दुई विकेट लिए। त्यस्तै जेरार्ड इरास्मस, बेर्नार्ड शोल्ट्ज र जेजे स्मितले समान एक एक विकेट लिए।
