सीके राउतले भेटे देउवा र प्रचण्डलाई

१६ मंसिर २०७९, शुक्रबार ०९:२६

जनमत पार्टीका अध्यक्ष सीके राउत र प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । अध्यक्ष राउत र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।

बिहीबार साँझ भएको भेटघाटमा दुवै जनाले शुभकामना साटासाटसँगै संघ र मधेश प्रदेशमा सरकार गठनका विषयमा छलफल गरेका छन्। प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्।

त्यसमा अध्यक्ष राउतले सकारात्मक प्रतिक्रिया दिएको जनमत पार्टीका एक केन्द्रीय सदस्यले बताए। “प्रधानमन्त्रीजीले सहकार्यको प्रस्ताव गरेपछि अध्यक्ष राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सिर्जना गर्ने लगायतका अजेन्डा उठाउनुभयो। यी अजेन्डा पूरा हुनेपछि सहकार्य गर्न सकारात्मक रहेका छौं भन्नुभयो,” ती केन्द्रीय सदस्यले भने।

जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको जनाएको छ। आज पहिलो चरणको छलफल भए पनि कुनै निर्णयमा पुगिएको छैन। थप छलफल गर्न दुवै जना सहमत रहेको जनाइएको छ।

यसैबीच कांग्रेस नेता विमलेन्द्र निधिले भने जनमत पार्टी अध्यक्ष राउत सरकारसँग सरकारमा सहभागी हुने सहमति भएको दाबी गरेका छन्। उनले ट्वीट मार्फत भनेका छन्, “अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गराएर फर्कंदै छु। दुवै जनामा सकारात्मक र परिणाममूलक वार्ता भएको छ। गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ।

यस्तै राउतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गरेका छन् । प्रचण्ड निवास खुमलटार पुगेर राउतले समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन् ।

उनीहरु दुवैले निर्वाचन जितेकोमा एक अर्कामा बधाई साटासाट गरेका थिए । सो क्रममा प्रचण्डले सत्ता गठबन्धनसँग सहकार्य गर्न प्रस्ताव राखेका थिए । प्रचण्डको प्रस्तावमा राउतले आफूहरु सकारात्मक रहेको जवाफ दिएका थिए ।