भारतले डिजिटल रुपैयाँको पाइलट प्रोजेक्ट सञ्चालन गर्ने

१४ मंसिर २०७९, बुधबार १४:०८

मंसिर १५ गते देखि डिजिटल रुपैयाँको ‘पाइलट प्रोजेक्ट’ भारतले खुद्रा (रिटेल) कारोबार सञ्चालन गर्ने भएको छ । सर्वसाधारणले पनि प्रयोग गर्न सक्ने गरी डिजिटल रुपैयाँको दोस्रो चरणको पाइलट प्रोजेक्ट भारतीय रिजर्भ बैंक (आइबीआई) ले सञ्चालन गर्न लागेको हो । यसअघि, पहिलो चरणमा कात्तिक १५ गतेदेखि ‘होलसेल सेगमेन्ट’ का लागि डिजिटल रुपैयाँको पाइलट प्रोजेक्ट सञ्चालन गरिसकेको छ ।

होलसेल सेगमेन्टमा सरकारी धितोपत्रहरुको कारोबार सेटलमेन्टका लागि ठूला बैंकहरुले मात्र डिजिटल रुपैयाँको प्रयोग गरेका छन् । रिटेल सेगमेन्टमा भने आम सर्वसाधारणले समेत डिजिटल रुपैयाँको प्रयोग गर्न पाउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । रिटेल डिजिटल रुपैयाँको पाइलट प्रोजेक्टका लागि आरबीआईले ४ वटा बैंकहरुसँग सहकार्य गरेको छ ।

आरबीआईले मुम्बई, नयाँ दिल्ली, बेंगलुरु र भुवनेश्वर शहरस्थित भारतीय स्टेट बैंक, आइसीआइसीआई बैंक, यस बैंक, र आइडीएफसी फर्स्ट बैंकसँग सहकार्य गरेको हो । आरबीआईका अनुसार रिटेल पाइलट प्रोजेक्टको सुरुवाती चरणमा केही सीमित ग्राहक र मर्चेन्टहरु सहभागी रहेको बन्द समूहलाई मात्र सामेल गरिनेछ ।