मदिरा सेवन गरेर वडाध्यक्षले गरे सरकारी निवासमा तोडफोड

११ मंसिर २०७९, आईतवार ११:२०

प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा कैलालीको घोडाघोडी नगरपालिकामा एक जना वडाध्यक्षले तोडफोड गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यको सरकारी निवासमा शनिबार राति मेयर खड्कबहादुर रावतसहित केही वडाका वडाध्यक्षले मदिरा सेवन गरेका थिए । सोही क्रममा आपसमा विवाद हुँदा उनीहरुबीच हात हालाहालसम्मको अवस्था सिर्जना भएको थियो ।

मेयर रावत र प्रमुख प्रशासकीय अधिकृत आचार्यबीच विवाद हुँदा वडानम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले लात्ताले प्रहार गरेपछि टेबुल फुटेका छन् ।
घटनाबारे आधिकारीक रुपमा जानकारी प्राप्त नभए पनि नगरपालिकाका प्रशासकीय अधिकृतको निवासमा मदिरा सेवनपछि वादविवाद भएको सुनिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीले बताए ।

वादविवादकै क्रममा प्रशासकीय अधिकृतको निवासमा रहेको टेबुलमा वडाध्यक्षले ओझाले लात्ता प्रहार गर्दा फुटेको बुझिए पनि कुनै पक्षले घटनाबारे औपचारिक रुपमा जानकारी नदिएको उनले जनाए ।

उनीहरुले सुखड बजारमा रहेको माछा घर रेष्टुरेन्टमा राति अबेरसम्म मदिरा सेवन गरेकको त्यहाँबाट निस्केर फेरि उनीहरु प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरकारी निवासमा गएको प्रहरीले जनाएको छ ।