​प्रत्यक्षतर्फ १४ स्थानमा रास्वपाका उम्मेदवार अगाडि, कुन स्थानबाट को अगाडि छन् त ?

६ मंसिर २०७९, मंगलवार ११:१७

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तर्फ प्रत्यक्षको १६५ सिटमध्ये १३१ स्थानमा मतगणना भइरहेको छ।

मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्ष र समानुपातिक दुबैमा तेस्रो स्थानमा देखिएको छ ।​प्रत्यक्षतर्फ मतगणना भइरहेकामध्ये १४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ।

नेकपा माओवादी केन्द्रका उम्मेदवारले ११ स्थानमा अग्रता कायम गरेका छन्। नेकपा एकीकृत समाजवादीका उम्मेदवार ५ स्थानमा अगाडि रहेका छन्। नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ३ सिट जितिसकेको छ भने ४२ स्थानमा अग्रता कायम गरेको छ।

नेकपा एमालेले एक सिट जितेको छ भने ३६ स्थानमा अग्रता कायम गरेको निर्वाचन आयोगले जनाएको छ ।

समानुपातिक तर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीभन्दा अगाडि रहेको छ।

यी हुन् अग्रता कायम गर्ने स्वतन्त्र पार्टीका उम्मेदवार

झापा ४  मा शम्भुप्रसाद ढकाल,  सुनसरी १  मा गोमा तामाङ,  सुनसरी २ मा लाल बिक्रम थापा,
सुनसरी ३ मा कमल बाबु मैनाली,  काठमाडौं २ मा सोबिता गौतम,  काठमाडौं ६ मा शिशिर खनाल,  काठमाडौं ७  मा गणेश पराजुली,  काठमाडौं ८ मा विराज भक्त श्रेष्ठ, ललितपुर ३ मा तोसीमा कार्की,  चितवन १ मा हरि ढकाल,  कास्की २  मा माधव प्रसाद कंडेल,  कास्की ३ मा योग राज पौडेल,  रुपन्देही २  मा गणेश पौडेल  र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा  महेन्द्र सेन (ठकुरी)