नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विकासको नाममा योजनाहरुका फण्डा फालेर सबै अपलपत्र पारेको नेपाली कांग्रेसका नेता खजेन्द्र अधिकारीले बताएका छन् ।
नेता अधिकारीले मंगलबार पत्रकारहरुसंग कुराकानी गर्दै सो कुरा बताएका हुन् । ओलीले सभागृह र रंगशालाको नाममा राजनीति गरेको पनि उनले आरोप लगाए । आदिवासी जनजातीको भावनामा माथि खेलेर रंगशालाको नाममा ओलीले चोट पुर्याएको नेता अधिकारीले बताए । ओलीले सभागृह बनाउँदा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको अपमान गर्ने काम समेत गरेको उनले बताएका छन् ।
गठबन्धनको पक्षमा विशाल जनमानस जनलहर उर्लिएकाले चुनावी लहर एकदमै उत्साहजनक भएको र नेकपा एमालेको भने निराशाजनक अवस्था देखिएको उनले बताए। नेकपा एमालेका अध्यक्षसँगै प्रतिस्पर्धा गरिरहदा आफुलाई कत्ति पनि दबाव महसुस नभएको बरु ओलीलाई बढी दबावको महसुस भएको हुनसक्ने नेता अधिकारीले बताए ।
२०७४ सालको निर्वाचनमा ओलीसंग हारेपनि आफू निरन्तर रूपमा पाँच वर्षसम्म जनताको माझमा रहेको र उनीहरुको दुःख, सुख र पिरमर्कामा सधैं संगै भएकाले मतदातासँग घुलमिल र सामीप्यता बढेको उनले बताएका छन् । साढे ३ वर्षसम्मको अवधिमा कुनै पनि गतिविधि गर्न निषेध भएको कारण त्यसबेला जनताका लागि काम गर्न गाह्रो भएको नेता अधिकारीले बताए।
ओलीको सरकारमा सबैभन्दा बढी खबरदारी यो–यो काम गलत गर्नुभयो भनेर खबरदारी गर्ने काम आफूले चनाखोपूर्वक गरेको र जनताको घर–घरमा पुग्ने गरी काम गरेको साथै पछिल्लो समय बाढी पीडितलाई राहत बाँड्ने काम पनि गरेको उनले बताए ।
कोरोनाका बेला पनि जनताका लागि काम गरेको र चुला बाँड्नेदेखि बिजुली ट्रान्सर्फमर बनाउने जस्ता कार्यमा आफू निरन्तर रूपमा लागिरहेको उनले बताएका छन् ।
