आगामी मंसिर ४ गतेको निर्वाचनमा अर्घाखाँचीमा एमाले सचिव टोपबहादुर रायमाझी र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालबीच कडा चुनावी प्रतिस्पर्धा हुने भएको छ। एमाले सचिव रायमाझीले यसअघिको निर्वाचन लगातार तीन पटक जितेका थिए ।
एमाले सचिव रायमाझी रायमाझी र गठबन्धनको साझा उम्मेदवार भुसाल भोट माग्न घरदैलो अभियानमा व्यस्त रहेका छन् । भोट माग्न घरदैलो अभियानमा पुगेका उनीहरुलाई मतदाताले पनि विकासका लागि मौखिक आश्वासन होइन, लिखित हस्ताक्षर नै गराउन थालेका छन् । कांग्रेस नेतृ भुसाल छत्रदेव गाउँपालिकाको ठूलापोखरामा पुग्दा स्थानीयले ठुलापोखराको विकासका योजना १० बुँदामा प्रतिबद्धता जनाए मात्रै भोट दिने माग राखेका हुन् । उनीहरुले पाँच वर्षसम्म गर्ने विकासमा मौखिक आश्वासनमा विश्वास गरेनन् । त्यसपछि लिखित हस्ताक्षर गराए ।
उनीहरुको १० बुँदे मागमा वडाभित्रको सडकलाई स्तरोन्नती गर्दै व्यवस्थित र कालोपत्रे गरिदिनुपर्ने, यस क्षेत्रकै ठूलो चौवाटार सिचाइँ कुलो सम्पन्न भएकाले त्यसलाई मर्मत सुधारको माग राखेका छन् ।
त्यस्तै कोकलचारे–सेट्टारी सिचाइ योजना, दुग्दी–सालबोट–बलीफाँट सिचाइ योजना, गुठी–अरटारी–फुल्ली र सानीखोली–तौवाखोला सिचाइ योजनामा बजेट पारेर सम्पन्न गर्ने प्रतिबद्धता भुसालले जनाइन् । खेतबारीमा तटबन्ध, चौवाहको सरस्वती आधारभूत विद्यालयको भवन निर्माण, धार्मिक मठमन्दिर निर्माण गर्नेमा हस्ताक्षर गरेकी छन् ।
सालबोट–कोटफेरा लिफ्टिङ खानेपानी, अशिदश चौवाह–उरामथुम लिफ्टिङ खानेपानी योजना, दुग्दी, धैरेनी–धरमपानी योजना निर्माण सम्पन्न गरी एक–घर एक धारा बनाइदिनुपर्ने र उपल्लो टिकुरी, तल्लो टिकुरी खानेपानी योजनामा मिटर जडान गर्नुपर्ने माग छन् । जितेपछि ५ वर्षभित्र यी काम सम्पन्न गरिदिन्छौं भनेर भुसाललाई मतदाताले लिखित हस्ताक्षर गराए ।
यस्तै एमालेका उम्मेदवार रायमाझीलाई पनि विकासका मागमा लिखित हस्ताक्षर प्रतिबद्धता गराउने मतादाताहरुले बताएका छन् ।
