झापामा यी ६ शीर्ष नेताहरुबीच प्रतिष्पर्धा हुँदै, कसले मार्ला बाजी ?

२८ कार्तिक २०७९, सोमबार १४:००

आगामी मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि झापामा ६ शीर्ष नेताहरुबीच नै प्रतिष्पर्धा हुँदै छ । झापाको पाँच निर्वाचन क्षेत्र मध्ये तीन क्षेत्रमा ‘हेभीवेट’ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, काँगे्रस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाले स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेन चुनावी मैदानमा छन् ।

यी ६ जना प्रभावशाली नेताहरु चुनावी मैदानमा उत्रेसँगै झापा जिल्लामा चुनावी माहोल रोचक बन्दै गइरहेको छ । झापामा शक्तिको रुपमा रहेको एमाले र राप्रपाबीच तालमेल छ । सत्तरुढ गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावी मैदानमा छन् । एमाले अध्यक्ष ओलीले तुलनात्मक रुपमा कमजोर र बिगतकै प्रतिष्पर्धी पाएका छन् । शर्मा र खरेल तथा सिटौला र लिङ्गदेनबीच कडा प्रतिष्पर्धा हुने अनुमान छ । निर्वाचन आउन एक साता बाँकी रहँदा अहिले चुनावी माहोल झन तात्दै गइरहेको छ ।

अधिकारी भर्सेस  ओली 

नेपाली कांग्रेसका तर्फबाट खगेन्द्र अधिकारी र नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओलीबीच झापा क्षेत्र नं ५ मा  प्रतिस्पर्धा हुने देखिन्छ ।

लिङ्देन भर्सेस  सिटौला 

सत्ता गठबन्धनमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला र  विपक्षी गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र लिङ्देनबीच  झापा क्षेत्र नं ३ मा प्रतिस्पर्धा हुने देखिन्छ ।

शर्मा भर्सेस खरेल

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री अग्नी खरेल र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बीच झापा क्षेत्र नं १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।