अर्थतन्त्रको संकट समाधान गर्ने मूल दायीत्व नयाँ सरकारको हो: प्रकाशमान सिंह

२८ कार्तिक २०७९, सोमबार ११:०९

काठमाडौं क्षेत्र नं. १ का मतदाताले आफूलाई सरकारको नम्बर वान बनेको हेर्न चाहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।

काठमाडौं महानगरपालिकाको वडा नं. २९ को घरदैलो कार्यक्रममा सोमबार बिहान पत्रकारहरुसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेता सिंहले भने ‘यो क्षेत्रका जनताले मलाई सरकारको नम्वर वान म्यान बनेको हेर्ने चाहना छ भनेका छन्।’

सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य लागि नेता सिंह उम्मेदवार बनेका छन् । यसअघि लगातार तीन वटा निर्वाचन काठमाडौं क्षेत्र नं. १ बाट जितिसकेका उनले यसपालि पनि चौथो जितको खोजीमा छन् । आफूले क्षेत्र नं. १ मा धेरै विकासका काम गरेको भन्दै उनले फेरि निर्वाचित भए बाँकी काम पनि पूरा गर्ने बताएका छन् ।

लगानीमैत्री वातावरण बनाउने र अहिलेको अर्थतन्त्रको संकट समाधान गर्न नयाँ सरकारको मूल दायीत्व रहेको बताएका छन् । उनले लगानीमैत्री वातावरण बनाउन र अर्थतन्त्रको संकट समाधान गर्न आफूले पहल गर्ने पनि बताए ।