वर्तमान गठबन्धन भागबण्डाका लागि मात्र हो: ओली

२६ कार्तिक २०७९, शनिबार १६:४३

वर्तमान गठबन्धन विकास र समृद्धिका लागि नभएर भागबण्डाका लागि भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

ओलीले गठबन्धनमा आबद्ध दलका नेतालाई देशकको विकास, समृद्धि र राष्ट्रियताप्रति चिन्ता र चासो नभएको नेकपा एमाले जिल्ला कमिटी डोटीले दिपायलमा गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै बताए ।

आमसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘विभिन्न दलहरुबीच जुन गठबन्धन भएको छ त्यो देशको विकास समृद्धिका होइन, ती दलका नेतलाई राष्ट्रियताप्रति चिन्ता र चासो छैन, केबल जनतालाई झुटा आश्वासन दिएर चुनाव जित्नु र पछि भागबण्डा गरेर खानु एउटा मात्र उद्देश्य हो ।’

सुदूरपश्चिम प्रदेशका राष्ट्रिय महत्वका योजनाहरु पश्चिम सेती, खुटीया दिपायल फास्ट ट्रयाक, सहजपुर बोगटान राजमार्गलाई पूर्णता दिने, लिपुलेक लिम्पियाधुरालाई नक्सामा कायम गरे जस्तै भूमि पनि फिर्ता गर्ने बताउदै मंसिर ४ पछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने ओलीले दाबी गरे ।

प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट उमेदवार बनेका नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य प्रेमबहादुर आलेमगरप्रति ओलीले आक्रमक भए । मन्त्री पदमा रहँदा आलेले बोलेका भाषाले गर्दा डोटीको मात्र नभई राष्ट्रको समेत बेइज्जत गरेको बताए ।