मुलुकको परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउनका लागि नेपाली कांग्रेससँग गठबन्धन गरेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।
प्रचण्डले विगतमा सात राजनीतिक दलको तर्फबाट कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नै देशको राजनीतिक परिवर्तनको प्रक्रिया सुरु भएको बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै स्मरण गरे।
अहिले मुलुकमा व्याप्त परिवर्तन विरोधी, संघीय लोकतन्त्र विरोधी, संविधान विरोधी र प्रतिगामीहरुलाई परास्त गर्नका लागि नेपाली कांग्रेस लगायत परिवर्तन पक्षधर पार्टीहरुसँग गठबन्धन गरेको उनले बताए। नेपाली जनताको साथ र सहयोगसहित गठबन्धनका दलहरु एक ढिक्का भएमा प्रतिगामीहरुलाई परास्त गर्न सकिने प्रचण्डले दावी गरे।
‘ठूलो संघर्षबाट प्राप्त नेपाली जनताको अधिकारको संरक्षण, संविधानको रक्षा, संघीयता, लोकतन्त्र र नेपाली जनताको पक्षमा हाम्रो गठबन्धन बनेको छ।’ प्रतिगामी शक्तिहरुले पनि गठबन्धन बनाएको भन्दै उहाँले भन्नुभयो, ‘जो हिजोका दिनदेखि नै संघर्षबाट प्राप्त उपलब्धिहरुको विरोधी थियो। अहिले पनि निकै ठूलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरुलाई उल्टाउन चाहन्छ, संविधानलाई च्यात्न चाहने, मुलुकमा राजतन्त्र फर्काउन चाहनेहरुको पनि गठबन्धन बनेको छ। त्यसको नेतृत्व केपी ओलीले गरेका छन्।’ मुलुकमा दुई खाले गठबन्धन भएको चर्चा गर्दै प्रचण्डले भने ।
अहिलेको दुई गठबन्धनबीच मंसीर ४ गते ठूलो रणसंग्राम हुने र त्यसको निर्णय नेपाली जनताको हातमा भएको प्रचण्डले उल्लेख गरे ।
