आज कर्णाली प्रदेशका तीन जिल्लालाई प्रचण्डले सम्बोधन गर्दै

२२ कार्तिक २०७९, मंगलवार ०९:१५

आज कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएका छन् ।

जुम्लाका माओवादी नेता मनऋषि धितालका अनुसार मंगलबार कर्णाली पुगेर जुम्ला, हुम्ला र कालिकोट जिल्लाका चुनावी सभालाई ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रचण्डसहित माओवादी कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष मायाप्रसाद शर्मा, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लगायत नेताहरू कर्णालीका चुनावी सभामा पुग्ने भएका छन् ।

हुम्लाको सर्केगाड,जुम्लाको खलंगा, र कालिकोटका मान्मा बजारमा हुने चुनावी सभालाई मंगलबार प्रचण्डसहित खड्काले पनि सम्बोधन गर्ने धितालले बताए । गठबन्धनको पक्षमा माहौल बनाउन प्रचण्डसहित गठबन्धनका शीर्ष नेता कर्णाली जान लागेका हुन् ।

गठबन्धनबाट माओवादी केन्द्रका नेता छिरिङ डम्डुल लामा (भोटे) हुम्लाबाट प्रतिनिधि सभाको उम्मेदवार छन् । यस्तै प्रदेश सभा ‘क’बाट माओवादीका रनसिंह परियार र प्रदेश सभा ‘ख’बाट कांग्रेसका जीवनबहादुर शाही उम्मेदवार छन् । जुम्ला, हुम्लाबाट प्रतिनिधि सभामा गठबन्धनबाट माओवादी केन्द्रकै गोमा गौतम कुँवर उम्मेदवार रहेकी छिन् भने प्रदेश सभा ‘क’बाट कांग्रेसका ललितजंग शाही र प्रदेश सभा ‘ख’बाट एकीकृत समाजवादीका पदमबहादुर रोकाय उम्मेदवार छन् ।

माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही कालिकोटबाट प्रतिनिधि सभामा उम्मेदवार छन् । यस्तै प्रदेश सभा ‘क’बाट दुर्गाबहादुर राउत र प्रदेश सभाबाट कांग्रेसका हिक्मतबहादुर विष्टले उम्मेदवारी दिएका छन् ।