एमालेका ६ जना मधेस प्रदेश कमिटी सदस्य सहित ७६ जनाले दिए सामूहिक राजीनामा, ती को को हुन् ?

१५ कार्तिक २०७९, मंगलवार २०:०६

बारामा ७६ जनाले सामूहिक राजीनामा दिएका छन् ।

नेकपा एमालेका ६ जना मधेस प्रदेश कमिटी सदस्य सहित ७६ जनाले सामूहिक राजीनामा दिएका हुन् । एमाले प्रदेश कमिटी सदस्यहरू श्रीकाजी मोक्तान (अशोक लामा), उमेश कुशवाह ,कलामुद्दीन अन्सारी, प्रदीप साह, देवराज घिमिरे, रेहाना खातुन र जिल्ला कमिटी सदस्यहरुमा दुख नारायण साह, बलीराम प्रसाद यादव,सहीम हवारी, रुपबहादुर पाख्रिन, रामएकवाल यादव,मदन साह,विकास कुशवाह लगायतले प्रेस विज्ञप्ति जारी गरेर सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

साथै सामूहिक राजीनामा दिनेहरूमा फैसल अन्सारी, मुस्ताफा अन्सारी,पुरेन्द्र मोक्त्तान, साद अन्सारी,साउद अन्सारी,सलाउद्दीन अन्सारी,अब्दुल्लाह अजाद, अब्बाद अन्सारी, अम्मार अन्सारी,किसान संघ जिल्ला कमिटी सदस्य जादोलाल गोठ,अनेरास्ववियु जिल्ला कमिटी सदस्य राकेश वैठा,दलित जिल्ला कमिटी सदस्य राम भरोस राम सहित ७६ जनाले विज्ञप्ति नै जारी गरेर सामूहिक राजीनामा दिएका हुन् ।

एमाले मधेस प्रदेश कमिटी सदस्य श्रीकाजी मोक्तानले निर्वाचनको मुखमा रातारात जनता समाजवादी पार्टीसँगको अप्राकृतिक गठबन्धनको कारण बाध्य भएर पार्टीबाट सामूहिक राजीनामा दिनुपरेको बताए । ‘पार्टी छोड्नु हाम्रो रहर होइन बाध्यता हो, पार्टी नेतृत्वले तल्लो तहको सरसल्लाह विपरीत जुन रातारात जसपासँगको गठबन्धन भयो हाम्रो त्यसमा घोर विरोध हो,’ मोक्तानले भने, ‘हिजो मधेस आन्दोलन गतिविधिमा संलग्न पार्टी, ५ वर्ष मधेस प्रदेश सरकार भ्रष्ट भयो भनेर हामीले जुन दलको विरोध गर्‍यौँ, आज तिनै दलसँग नैतिकताका आधारमा सँगै बस्न हामी सक्दैनौ त्यसैले नैतिक रूपमा पार्टीबाट सामूहिक राजीनामा दिएका हौँ ।’

नेकपा एमालेका ६ जना मधेस प्रदेश कमिटी सदस्य सहित ७६ जनाले सामूहिक राजीनामा पार्टीबाट  दिनुको १० वटा कारणहरू विज्ञप्तिमा उल्लेख गरेका छन् ।