५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने एमालेको दाबी

१५ कार्तिक २०७९, मंगलवार १९:२८

नेकपा एमालेले आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने दाबी गरेको छ । आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावको लागि मंगलवार काठमाडौंमा चुनावी घोषणापत्र जारी गर्दै एमालेले अर्थतन्त्रको आकार बढाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।

आगामी ५ वर्षमा मुलकको कुल ग्रार्हस्थ्य उत्पादन १०० खर्ब पुर्‍याउने प्रतिबद्धता एमालेको घोषणा पत्रमा उल्लेख छ । त्यसैगरी, ५ वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २५ लाख पुर्‍याउने र

नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात ३ लाख रुपैयाँ पुर्‍याउने चुनाबी बाचा पनि एमालेले गरेको छ । हरेक वर्ष ५ लाख रोजगारी सिर्जना गर्ने र कामदारको न्यूनतम ज्याला २५ हजार बनाउने एमालेको घोषणा पत्रमा उल्लेख छ ।

त्यस्तै नेकपा एमालेले आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज मङ्गलवार दिउँसो काठमाण्डाैकाे याक एन्ड यती होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आउँदाे चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई निरन्तरता दिइएको छ । घोषणापत्रमा देशकाे समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।

यस्तै एमालेकाे घाेषणापत्रमा सरकार गठन भएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने र छ महिनाभित्र नागरिकतासम्बन्धी समस्या हल गरिने उल्लेख छ । एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिने पनि जनाइएकाे छ ।

कृषिको व्यवसायीकरण गरिने तथा साना, मझौला र ठूला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गरिने घाेषणापत्रमा उल्लेख छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) लाई आउँदाे पाँच वर्षभित्र १०० खर्ब रुपैयाँ र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी दाेब्बर अर्थात् ३ लाख रुपैयाँ (२४०० अमेरिकी डलर) पुर्‍याइने पनि उल्लेख छ ।