दलाई लामाले आफ्ना समर्थकका लागि नयाँ निःशुल्क एप लन्च गर्ने

१ पुष २०७४, शनिबार ०२:५८

पुस १, काठमाडौं । तिब्बती धर्मगुरु दलाई लामाले आफ्ना समर्थकका लागि नयाँ निःशुल्क एप लन्च गर्ने बताएका छन् । आइफोनमा मात्र उपलब्ध हुने सो एपमा उनका भ्रमण र उपदेशहरुबारे जानकारी गराइने बीबीसीले बताएको छ ।

८२ वर्षीया दलाई लामाको ट्वीटर अकाउन्टमा पहिले नै १ करोड ६० लाख फलोअर रहेका छन् । उनले लन्च गरेको नयाँ एपमा भने उनी सम्बन्धी तस्बिर, भिडियो, समाचार र जानकारीहरु पोष्ट गरिने बताइएको छ । यसअघि रोमन क्याथोलिक चर्चले पनि पोप एप संचालन गरिसकेको छ । उनको नयाँ एपको नाम ‘दलाई लामा’ नै रहेको बताइएको छ । तर भर्खरै लन्च भएका कारण एपस्टोरमा यसको अहिलेसम्म कुनै मूल्याङ्कन गरिएको छैन ।

यसरी सामाजिक संजालमा सक्रियता जनाइरहेका लामाको मोबाइल चलाइरहेको वास्तविक तस्बिर भने अहिलेसम्म फेला परेको छैन । उनले भने आधुनिक साधनबारे यस्तो ट्वीट गरेका छन् , ‘प्रविधको असर राम्रो वा नराम्रो हुनु प्रयोगकर्तामा भर पर्ने कुरा हो । तर जरुरी के छ भने हामी प्रविधिको दास बन्नबाट चाहिँ बच्नुपर्छ किनकी प्रविधिको विकास हामीलाई मद्दत गर्नका लागि गरिएको हो ।’