जनताको नजिकको ‘साथी’ प्रहरी हो: प्रधानमन्त्री देउवा

३१ आश्विन २०७९, सोमबार १२:५८

अपराध नियन्त्रण र अनुसन्धान प्रहरीको मुख्य दायित्व भएको नेपाली का्रंग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

अपराध अनुसन्धान गर्दा कसैको दवावमा नपर्न ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले निर्देशन दिए ।

‘कसैको दवाब र प्रभावमा नपरी अपराध नियन्त्रण र अनुसन्धानको दायित्व पुरा गर्न सकल दर्जालाई निर्देशन दिन चाहन्छु ।’ सोमबार आयोजित उक्त समारोहमा प्रधानमन्त्री देउवाले भने । यस्तै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वतन्त्र र भयरहित ढंगले सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री देउवाले बताए ।

कोभिड–१९ र भुकम्पको प्रकोपमा प्रहरी कर्मचारीले खेलेको भुमिकाको प्रशंसा गर्दै जनताको नजिकको ‘साथी’ प्रहरी भएको उल्लेख प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् । शान्ति मिसनमा प्रहरीको सहभागिता बढाउन सरकार सकारात्मक रहेको उनले जानकारी दिए ।

प्रहरी दिवसको अवसरमा कार्यदक्षता मूल्यांकन (पुलिस व्याटन)मा छनोट भएका प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी सुदिप गिरीलाई प्रधानमन्त्रीले पुरस्कृत गरेका छन् । विशेष ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्का सर्वोत्कृष्ट अनुसन्धानकर्ता ठहरिएका छन् । प्रहरी दिवसको अवसरमा उनलाई प्रधानमन्त्रीले सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरेका छन् ।

यस्तै ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र बहादुर सिंहले पाएका छन् । उनलाई सो अवार्डद्धारा प्रधानमन्त्रीले सम्मान गरेका हुन् ।