नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व राजा ज्ञानेन्द्र शाह भन्दा पनि निरंकुश भएको नेता घनश्याम भुसालले टिप्पणी गरेका छन् ।
नेता भुसालले आइतबार रुपन्देहीको धकधइमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । उक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता भुसालले भने, ‘ओलीले पार्टीको विधान मिच्ने, संविधानलाई पनि कुल्चने जस्ता काम गरे, विधिविधान नमान्ने ओली ज्ञानेन्द्र शाह भन्दा पनि निरंकुश भए ।’
ओलीको जवरजस्तीपन र व्यक्तिवादी प्रवृत्तिले एमालेमा विचलन आएको समेत उनले उल्लेख गरे । पार्टीको नीति र सिद्धान्तभन्दा बाहिर गएर ओलीले काम गरेकाले पार्टीमा समस्या उत्पन्न भएको उनले तर्क गरे ।
पटकपटक संसद विघटन गरेर ओलीले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै त्यसविरुद्ध आफूले पार्टीमा संघर्ष गरेको भुसालले उल्लेख गरे । संसदलाई प्रहार गरेर लोकतन्त्रलाई खतरामा पार्ने काम ओलीले नै गरेको उनको भनाई थियो ।
यो गठबन्धन लोकतन्त्र जोगाउनेहरूको गठबन्धन भएको सत्तारुढ गठबन्धनका दलबाट पनि समर्थन पाएका नेता भुसालले चर्चा गरे । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन क्षेत्र नं.१ मा आफूहरूले जितिसकेको पनि उनले उद्घोष गरे ।
