आफू माथि सबैको नजर परेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
निर्वाचन आयोगले स्पष्टिकरण सोधेको प्रशंग निकाल्दै आफूलाई माइक्रोस्कोपले हेरेर बसेको गोरखामा शनिबार नेपाली कांग्रेसले गरेको उम्मेदवारको परिचयात्मक एवं अभिमुखिकरण कार्यक्रममा उनले बताएका हुन् ।
अध्यक्ष प्रचण्डले उक्त कार्यक्रममा हास्दै भने, अस्ति कसले बाजा बजायो मलाई थाहा पनि छैन बाजा कहाँबाट आयो, कसले ल्यायो, कसले बजायो । निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो । मैले बाजा बजाउने मेरो योजना होइन भनेर लिखित स्पष्टीकरण दिएँ,’।
यस्तै प्रचण्डले भने, ‘अहिले प्रचण्ड कता जान्छ के बोल्छ भनेर माइक्रोस्कोपले हेर्ने गरेका छन् ।’ अध्यक्ष प्रचण्डले गोरखा २ मा उम्मेदवारी दर्ता गराउने क्रममा पञ्चेबाजा बजाएको विषयमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेको थियो ।
आगमी मंसिर ४ गतेको निर्वाचनमा आफू निर्वाचित भएपछि गोरखाको विकासका निम्ति आफूले गर्ने कामहरुको विवरण समेत उक्त कार्यक्रममा प्रचण्डले सुनाए । आफूले जितेपछि झनै छिटो बूढीगण्डकी परियोजना निर्माण कार्य अघि बढ्ने पनि प्रचण्डले बताए ।
