अर्थमन्त्री जनार्दन शर्माले जुम्लाका किसानहरुलाई प्रत्साहन गर्दै

९ आश्विन २०७९, आईतवार १६:२५

नेपालको सबैभन्दा ठूलो स्याउ बगैँचाको अर्थमन्त्री जनार्दन शर्माले अनुगमन गरेका छन्।

अर्थमन्त्री शर्माले जुम्ला गुठीचौर गाउँपालिका ५ का किसान मीनबहादुर भण्डारीको ३३ हजार बिरुवा फुजी भएको स्याउ बगैँचाको अनुगमन गरेका हुन्।

देशको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखनीय योगदान रहेको र यसमा पनि जुम्लामा स्याउले अर्थतन्त्र सुधार्न सहयोग गर्ने बगैँचाको अवलोकन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताए। प्रति किसानलाई एक वर्षमा पाँच सय स्याउका बिरुवा रोप्नेका लागि सरकारले सहयोग गर्न तयार रहेको बताए।

स्याउ उत्पादन तथा बजारीकरणको अवस्था अवलोकनमा आएको किसानलाई प्रोत्साहन, सहुलियत कर्जा, उत्पादित वस्तुको बजारीकरण तथा ढुवानीमा सहुलियत दिन सरकार तयार भएको र उनले बताए।

‘कर्णालीसँग सम्रग देशलाई नै पाल्न सक्ने सामर्थ्य भएकाले कर्णालीमा लगानी बढाउन जरुरी छ । अब स्याउ किसान थप जुर्मुराउनु पर्छ । किसान पेन्सन कार्यक्रमलाई दुर्गममा पुर्याउन, किसानलाई उपयुक्त प्रविधि मल बिउ समयमै पुर्याउन समेत सरकार गम्भीर छ।’ अर्थमन्त्री शर्माले भने ।

अर्थमन्त्री शर्माले जुम्लाका उत्पादनलाई सहज रुपमा बजारमा पुर्याउन, किसानलाई सहुलियत दिन तथा बिचौलियालाई पाखा लगाउन सरकारले ठोस नीति लिने समेत बताए। कर्णालीको कृषिमा पर्याप्त लगानी भए कर्णालीको गरिबी पाँच वर्षमा अन्त्य हुने उनको दाबी छ । जुम्ली उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सहज वातावरण बनाउन सरकार लागि परेको उनको भनाइ छ।

गुठीचौर एग्रोफर्म जुम्लाकै नमुना र आर्थिक समृद्धिको आधार रहेको बताउँदै गुठीचौर एग्रोफर्मले सय्यौँलाई रोजगारी प्रदान गर्नेदेखि कृषि क्रान्तिको सुरुवात भएकोमा प्रतिनिधि सभा सांसद गजेन्द्र बहादुर महतले खुसी व्यक्त गरे।