लोसपाका प्रमुख सचेतक उमाशंकर सहित कार्यकर्ताहरु एमालेमा प्रवेश

९ आश्विन २०७९, आईतवार १२:५४

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरेर विभिन्न नेता तथा कार्यकर्ताहरु नेकपा (एमाले) प्रवेश गरेका छन् ।

शनिबार नेकपा (एमाले) जिल्ला कमिटी धनुषाले जिल्लाको निर्वाचन क्षेत्र नं.२ को तीनकौरिया चोकमा  आयोजना गरेको वृहत पार्टी प्रवेश कायक्रममा लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरीयासहित विभिन्न नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गरेका उनीह्रुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा, अविर र माला लगाइ पार्टीमा स्वागत गरेका थिए । उनले एमाले नेतृत्वको सरकारले विगतमा देश र जनताका लागि गरेका कामले एमालेप्रति जनताको आकर्षण रहेको र प्रवेशको लहर चलेको बताए। अरू पार्टी छाडेर एमाले प्रवेश गर्नेको सङ्ख्या लाख नाघेको भन्दै एमालेमा प्रवेशको क्रम चलिरहने अध्यक्ष ओलीले बताए।

देश विकाससँगै तराई–मधेशको विकास एमालेले मात्रै गर्न सक्छ भन्दै अध्यक्ष ओलीले पहिलो पटक मतदान गर्ने युवालाई देश विकासको पक्षमा मतदान गर्न पनि आग्रह गरे।