तातोपानी, रसुवागढी नाका खोल्न लि चानशुलाई प्रचण्डको आग्रह

२८ भाद्र २०७९, मंगलवार १५:४२

नेकपा (माओवादी केन्द्) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष लि चानशु नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन्।

बानेश्वरस्थित संसद भवनमा मंगलवार बिहान अध्यक्ष प्रचण्डले भेटवार्ता गर्दै विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारी मार्फत नेपालको प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन लागि चिनियाँ पक्षसँग आग्रह गरे। बीआरआई लगायतका परियोजना मार्फत भैरहेका आयोजनाहरुको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि अध्यक्ष प्रचण्डले जोड दिए।

नेपालमा दशैं, तिहार लगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढी सहितका नाकाहरु तात्काल खोल्न आग्रह गरे। उनले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गरे।

दुई पार्टीबीचको सम्वन्ध कुटनैतिक मात्र नभई बैचारिक र भावनात्मक विषय पनि भएको उनको भनाई थियो । चीनियाँ कम्युनिष्ट पार्टीको २० राष्ट्रिय महाधिवेशनको र राष्ट्रपति सीजिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भातृत्वको विकासका लागि सफलताको शुभकामना व्यक्त गरे ।