नागरिता विधेयकमा यो कुरा समेटे एक/दुई दिनमै पारित गर्ने ओलीको खुलासा

२८ भाद्र २०७९, मंगलवार ११:१८

नागरिकता विधेयक ‘काम’ नलाग्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

एमालेका अध्यक्ष ओलीले नागरिकता विधेयकमा धेरै प्रावधान गलत रहेको कारण ‘काम’ नलाग्ने भएका भन्दै ती गलत रहेको प्रावधानलाई सच्याउन आग्रह गरेका छन् ।

जन्मसिद्ध सन्तानलाई वंशजको नागरिकता दिइने प्रावधान समेटे एक दुई दिनमै पारित हुन सक्ने पनि ओलीले बताए । एमाले धनुषाद्वारा जनकपुरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले भने, ‘नागरिकता विधेयकबारे देशको ठूला पार्टी (एमाले) सँग सरसल्लाह नगर्ने । संसद्‍मा छलफल गर्न नदिने र राष्ट्रपतिको कुरा नमान्ने ।

विचार गरौँ भन्दा छलफलै नगरी बहुमतको बलमा राष्ट्रपतिको प्रस्ताव अस्वीकार गर्न मिल्छ ? बाहिरका अनाडीको कुरा सुनेर विधेयक ल्याइयो छ ।’ एमालेले नागरिकता दिएन र विधेयक रोकेर राखेको भनेर मधेसमा भ्रम छरिएको आरोप लगाउँदै नेता ओलीले नागरिकता समस्या समाधानका लागि आफू र एमाले पार्टी नै बढी लडेको दाबी गरे ।

‘०५२ सालमा मेरै पहलमा नागरिकता समस्या बुझ्न समिति बनाएँ,’ ओलीले भने,‘ नागरिकता समस्या हल गर्न संसद‍्‍मा मैले नै विधेयक लगेँ । तर, एउटा संसदीय समितिका सभापति अड्काएर बसिदिएँ । अनि मैले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भने अध्यादेश ल्याए । त्यो पनि अदालतमा मुद्दा हालेर फिर्ता गराइयो ।’

उनले नागरिकता समस्यालाई लिएर गठबन्धन दलले झुटको खेती गरिरहेको आरोप लगाए । ‘जन्मसिद्धको सन्तानले नागरिकता पाउनुपर्छ भनेर म ७ वर्षदेखि कराउँदैछु । तर, उनीहरु भ्रम र झुटको खेती गरेका छन् ।’

एमाले अध्यक्ष ओलीले जन्मसिद्ध सन्तानलाई वंशजको नागरिकता दिइने प्रावधान समेटे एक दुई दिनमै पारित हुन सक्ने र ०५२ सालमा मेरै पहलमा नागरिकता समस्या बुझ्न समिति बनाको बताएका छन् ।