आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा एमालेको बहुमत आउन सक्ने नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जिकिर गरेको छन् ।
आइतवार बेसीसहरमा एमाले प्रचार विभाग लमजुङ र प्रेस चौतारी लमजुङले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै एमाले नेता गुरुङले यस्तो बताएका हुन्।
एमाले गएको पालिका चुनावमा ३४ प्रतिशत मतसहित पहिलो लोकप्रिय पार्टी रहेको र त्यसमा ६ प्रतिशतमात्रै मत थप्न सके पनि चुनावमा एमालेको एकल बहुमत आउन सक्ने उपमहासचिव गुरुङले उल्लेख गरे।
उनले भने ‘निर्वाचनविद्हरूले हामीलाई दिनुभएको तथ्याङ्कका आधारमा हामी एक पार्टी सदस्य र नयाँ दुई मतदाता तयार गर्ने अभियानमा छौँ’ । एमालेमा अहिले आठ लाख ५५ हजार पार्टी सदस्य रहेको बताउँदै नेता गुरुङले आठ लाख सदस्यमात्रै नयाँ दुई मतदाता तयार गर्ने अभियानमा लागेमा १६ लाख मतदाता थपिने बताए।
