एमालेको विजययात्रा कुनै पनि गठबन्धनले रोक्न सक्दैन: महासचिव पोखरेल

२६ भाद्र २०७९, आईतवार १०:५८

बलियो राजनीतिक शक्ति निर्माण मुख्य मुद्दा भएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन्।

महासचिव पोखरेलले देश विकासको नेतृत्व निर्वाचनपछि बन्ने बलियो राजनीतिक शक्तिले नै गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।
गठबन्धनबाट राजनीतिक शक्ति निर्माण नहुने, बलियो राजनीतिक शक्तिको नेतृत्व एमालेले गर्ने दाङको घोराहीमा आइतबार पेशागत महासंघले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले बताए।

गठबन्धन विकासको बाधक भएको र देश विकासको नेतृत्व गठबन्धनबाट हुन नसक्ने जिकिर गर्दै महासचिव पोखरेलले टिप्पणी गरे। उनले भने, ‘गठबन्धन पराजयको स्वीकारोक्ति हो। एमालेको विजययात्रा रोक्नको लागि मात्रै गठबन्धन गरिएको छ। एमालेको विजययात्रा कुनै पनि गठबन्धनले रोक्न सक्दैन।’

महासचिव पोखरेलले भने, ‘राजनीति भनेको विचारको आधारमा हुने गर्छ, उद्देश्यको आधारमा हुने गर्छ। दलहरूले आफ्ना नीति कत्तिको प्रभावकारी छन् भनेर परीक्षण गर्ने माध्यम भनेको चुनाव हो । तर, नीतिविहीनताको आधारमा चुनावमा जाने प्रयास सत्ताधारी राजनीतिक दलहरूले गरिसकेका छन्।’