पानीको अधिकारका विषयमा कुनै आशङ्का नगर्न मन्त्री भुसालको आग्रह

२३ भाद्र २०७९, बिहीबार १६:४६

जलाशयुक्त आयोजनाबाट प्राप्त हुने तल्लो तटीय लाभसहित बहुआयामिक फाइदाका विषयलाई सरकारले विशेष ध्यान दिने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बताएकी छन् ।

उनले पानीको अधिकारका विषयमा कुनै आशङ्का नगर्न आग्रह गर्दै जलाशययुक्त आयोजना रणनीतिक तवरले अगाडि बढाउने बताइन्। जलविद्युत्को विकासका रणनीतिक आयामबारे आज जलस्रोत विकास संस्थाले आयोजना गरेको छलफलमा मन्त्री भुसालले बताइन् ।

“पानीको तल्लो तटीय अधिकारको विषयलाई कसैले पनि छोडेको छैन, पानीको हरेक अधिकारका लागि हामी सचेत छौँ । यसमा कसैले पनि शङ्का नगरौँ ।” सबै राजनीतिक दल र जलस्रोत क्षेत्रका जानकारहरू एक भएर देशको हितमा लाग्नुपर्नेमा जोड दिँदै उनले भनिन्, “देश र जनताको हितमा लागौँ, अरुलाई औँला ठड्याएर आफू मात्र राष्ट्रवादी बन्ने संस्कार त्यागौँ ।”

यस्तै एसआर–६ आयोजना निश्चित समयभित्र मुख्य कार्यहरू सम्पन्न गर्नुपर्ने समयसीमासहित अध्ययनका लागि मात्र समझदारी गरिएको र लगानी बोर्डले अगाडि बढाएको पश्चिमसेतीबारेमा पनि मन्त्री भुसालले स्पष्ट पारिन् ।