
नेकपा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमै फर्किनेको लहर चलेको छ । प्रदेश र प्रतिनिधी सभा निर्वाचन नजिकिदै गर्दा नेकपा एस छोडेर नेता तथा कार्यकर्ताहरु एमालेमै फर्किने बढ्दो क्रम छ ।
देशका विभिन्न स्थानबाट नेकपा एस छोडर एमाले प्रवेश गर्ने क्रममा गुल्मीबाट पनि नेकपा एस परित्याग गरी केन्द्रीय सदस्य गणेश खनाल र समाजवादी गुल्मी अध्यक्ष नरेश भण्डारी एमालेमा प्रवेश गरेका छन् ।
सोमबार गुल्मीको तम्घासमा एमाले गुल्मी जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतका नेताहरूले खनाल, भण्डारीसहित एसका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराएका हुन्।
खनाल, भण्डारीसहित युवा संघका केन्द्रीय सचिव हिमाल थापा, प्रदेश कमिटी सदस्य मदन विष्ट, जिल्ला कमिटी सचिवालय सदस्य मदनदीप घिमिरे, जिल्ला कमिटी सदस्य हरि कुँवर, जिल्ला कमिटी सदस्य बिष्णुप्रसाद भण्डारी, राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष रामुजङ्ग कँडेल, जिल्ला कमिटी सदस्य यमबहादुर खत्री र अनेरास्ववियूका जिल्ला उपाध्यक्ष निलकण्ठ पाण्डे लगायत नेकपा एमालेमा प्रवेश गरेका छन् ।
यस्तै दाङबाट आइतबार नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि द्वय चित्रम चौधरी र बुद्धिप्रकाश चौधरी लगायतका नेता तथा कार्यकर्ताहरु ठूलो संख्यामा एमालेमा प्रवेश गरेका हुन्।
