आगामी मंसिर ४ को प्रदेश र प्रतिनिधी सभाको चुनावपछि सडकमा जाने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका छन् ।
अध्यक्ष प्रचण्डले निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भएको भन्दै चुनावपछि आफू सडकमा जाने बताएका हुन् । आइतबार काठमाडौंमा आयोजित समाजवादको नेपाली मार्गचित्र विषयक कार्यक्रममा बोल्दै प्रचण्डले भने, चुनावपछि यो प्रणाली बदल्न सडकमा जान्छु’ ‘सडकबाटमात्रै संविधानमा हामीले व्यवस्था गरेको समाजवाद प्राप्त गर्न र यो मेसिनरी बदल्न जनताको बीचमा जानुको विकल्प छैन ।’
प्रचण्डले अहिलेको निर्वाचन प्रणाली कायमै राखेर भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नु उचित नहुने समेत बताए। ‘अहिलेको निर्वाचन प्रणालीलाई कामयै राख्ने, अनि बडो भ्रष्टाचारमुक्त, विचलन र विकृतिमुक्त समाजको कल्पना गर्नुभयो भने त्यो सम्भव छैन’ उनले भने, ‘यो निर्वाचन प्रणालीले दलाल, पूँजीपति, भ्रष्टहरुलाई नै अगाडि ल्याउँछ । पार्टी र नेतालाई पनि थाहा नपाइकन भ्रष्टीकरणतर्फ लैजान बाध्य पार्छ यो निर्वाचन मेसिनरीले।’
यस्तै बदलिदो परस्थिति अनुसार समाज र आन्दोलनका यात्रीहरुले समाजवादको मार्गचित्रको अनुसन्धान गर्नुपर्ने भएको प्रचण्डले बताए । समाजवादको नेपाली मार्गचित्र विषयक कार्यक्रममा बोल्दै प्रचण्डले भने, अनुसन्धानबाट समाजवादको मार्गचित्र कस्तो र कुन देशमा कति बेला भन्ने कुरा समकालीन परस्थितिको आंकलन शक्ति सन्तुलन, उत्पादन शक्ति र उत्पादन सम्बन्धको स्थिति विज्ञान प्राविधि विकासको स्थिति सबै सबैको कुल योगफलबाट एउटा प्रस्ट वैचारिक राजनितिक मार्गचित्र विना समाजवादको नयाँ मार्गचित्र बन्न नसक्ने पनि बताए ।
