
राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताले भेटका छन् ।
माओवादी अध्यक्ष ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति निवास पुगेका थिए । राष्ट्रपति भण्डारीले भेटमा नागरिकता विधेयकमा राष्ट्रिय सहमति गरेर जान सुझाएकी छन् ।
माओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेतासँग उनले राष्ट्रिय महत्वको विषयमा सबै दलहरुबीच सहमति बनाएर जाने वातावरण बनाउन आग्रह गरेकी हुन् । ‘राष्ट्रपतिज्यूले नागरिकता विधेयकका विषयमा कन्सर्न राख्नुभयो । समिति बनाएर छलफल हुनुपर्छ । त्यहाँबाट सर्वसम्मत होस् भन्ने छ’ भेटमा सहभागी एक माओवादी नेताले भने, ‘राष्ट्रिय महत्वको नागरिकता जस्तो विधेयकमा सबै दलको सहमति हुँदा राम्रो हुन्छ भन्नुभयो ।’
जवाफमा प्रचण्डले नागरिकता विधेयकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुँदादेखि सहमति भएको विधेयक ल्याएको प्रष्ट पारेका छन् । ‘प्रधानमन्त्री केपीजी हुँदा सहमति बनेकै विषय हो । राज्य व्यवस्था समितिमा विवाह गरेर आउनेको हकमा ७ वर्षको प्रावधान बनाएको थियो । विधेयक संसदमा ल्याउन ओलीजीलाई धेरै पटक दबाब दिइयो ।
सरकारले लग्दै लगेन’ प्रचण्डको भनाई उदृढ गर्दै ती माओवादी नेताले भने, ‘पछि ओलीजीले संसद विघटन गर्नुभयो । त्यहीँ विधेयकलाई ओलीजीले अध्यादेश मार्फत ल्याउनुभयो । अहिले हामीले ओलीजीले जे ल्याउनुभयो । त्यहीँ विधेयक ल्यायौ ।’
माओवादी अध्यक्ष प्रचण्डले नागरिकता विधेयकमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले ल्याएको अध्यादेशभन्दा केही फरक नभएको प्रष्ट पारेको र जन्मसिद्धका आधारमा सबैका छोराछोरीले नागरिकता पाउन नागरिकता विधेयक पास हुनुपर्ने प्रचण्डले जोड दिएको ती नेताले बताए ।
