लुम्बिनीमा निर्वाचनका लागि घोषणा पत्र तयारी समिति गठन, समितिमा को को रहेका छन् त ?

१५ भाद्र २०७९, बुधबार १७:३६

प्रदेश र प्रतिनिधिसभामा गठबन्धन र पार्टीका उम्मेदवारहरूलाई जिताउन नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिले विशेष रणनीति बनाएको छ।

लुम्बिनी प्रदेशभित्रका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू र जिल्ला संयोजकहरूलाई चुनावलाई केन्द्रित गरेर कार्यक्रम तय गर्न केही दिनअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल गएर निर्देशन दिएका थिए ।

केही प्रदेशको पदाधिकारीहरूलाई समेत गरी केन्द्रीय सदस्यहरूलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको कमाण्डर प्रदेश समन्वय समितिका बैठकले तोकेर पठाएको छ । लुम्बिनी प्रदेशमा पर्ने प्रतिनिधिसभातर्फका २६ क्षेत्र र प्रदेशको ५२ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले चुनावी कमाण्डर तोकेर पठाएको हो ।

केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल वलदेवले दिएको जानकारी अनुसार दाङ जिल्ला इन्चार्जमा निर्मल आचार्य, रुपन्देही जिल्लाको इन्चार्जमा हकि कुल्लाह खां र गुल्मी जिल्लाको इन्चार्जमा विरबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ।

प्रदेशका अध्यक्ष सुदर्शन बरालले दिएको जानकारी अनुसार उम्मेदवार छनोटको लागि प्रक्रिया सुरु गरिएको र भदौ २० गते भित्र कम्तीमा तिन जनाको नाम प्रदेश कार्यालयमा सिफारिस गरी पठाउन भनिएको छ । यस्तै प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणा पत्र तयारी समिति पनि गठन गरिएको छ ।

उक्त घोषणा पत्र तयारी समितिमा केन्द्रीय सचिव तथा प्रदेशका इन्चार्ज चक्रपाणी खनाल बलदेवको नेतृत्वमा नेताहरू कुल प्रसाद केसी, वामदेव क्षेत्री, सुदर्शन बराल, दामा शर्मा, जित बहादुर चौधरी, ठाकुर कुमार विक, डा.कृष्ण खनाल, अत्तर हुसेन रहेका छन् ।