
राजनीतिक दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ बढीभन्दा बढी महिलालाई उम्मेदवार बनाउनुपर्ने नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले बताएकी छन् ।
उनले टिकट वितरणमा ध्यान दिन राजनीतिक नेतृत्वलाई आग्रह गर्दै हरेक पार्टीमा प्रत्यक्ष निर्वाचन लड्ने क्षमताका महिला नेताहरु रहेको बताइन् । घर गरेको र स्वयं महिलाहरु समेत समानुपातिक पद खान लालायित हुने प्रवृत्ति देखिएकोले नेताहरुमा महिलाहरु समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञानले भएको उनको भनाइ थियो ।
नेपाली महिलाहरूमा जागरण आएको र सिंगो समाज महिलामैत्री माओवादी जनयुद्धका कारण बन्दै गएको उल्लेख गरिन् । पुरुषहरूलाई पृतृसत्तावादी भनेर गाली गर्ने महिलाहरु आफैं त्यो मनोदशाबाट ग्रस्त भएको उनको टिप्पणी थियो । घर्तीले आफूभित्रको पृत्तसत्तावाद जबर्जस्त निकालेर फाल्न सक्नुपर्नेमा जोड दिइन् ।
महिलालाई अगाडि बढाउने विषयमा विगतको तुलनामा धेरै परिवर्तन आएको र पुरुष नेतृत्वले समन्वय गर्ने गरेको उनले बताइन् । ‘राजनीतिक पार्टीहरूमा महिलाले आफ्नो पकड निर्वाचन क्षेत्र बनाउन सक्दैनन् भन्ने पनि छ’, पार्टी सम्वद्ध महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीले राजधानीमा गरेको कार्यक्रममा घर्तीले भनिन्, ‘महिलाहरु समानुपातिकमा मात्र लालायित हुँदा र प्रत्यक्ष निर्वाचन लड्न तयार नहुँदा पुरुष नेताहरुमा महिला भनेका समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञान निर्माण भएको छ ।’
महिलाले अवसर पाए जस्तोसुकै जिम्मेवारी पुरा गर्न सक्छन् भन्ने प्रमाणित भएको भन्दै उनले त्यसको उदाहरण आफैं भएको चर्चा गरिन् । आफूमाथि ठूलो विश्वास र भरोसा गरेर सभामुखको जिम्मेवारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको स्मरण घर्तीले गरिन् ।
