
आफ्ना कार्यकर्तालाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईबाट प्रेरणा लिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन् ।
मेयर साम्पाङको व्यवहार र आचरणबाट प्रेरणा लिन आफ्ना नेता तथा कार्यकर्तालाई धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सहभागी भएका प्रचण्डले आग्रह गरेका हुन् ।
माओवादीका अध्यक्ष प्रचण्ड मेयर साम्पाङको निम्तोमा आज धरान पुगेर वृक्षारोपण कार्यक्रममा सहभागी भएका हुन्। वृक्षारोपण कार्यक्रममा श्रमदान गर्दै साम्पाङ धरानका लागि अवसर भएको प्रचण्डले टिप्पणी गरे । माओवादीले गर्ने कार्य साम्पाङले गरेको भन्दै प्रशंसा गरेका प्रचण्डले देशभरका सबै श्रमजीवी जनतालाई पनि साम्पाङबाट प्रेरणा लिन पनि आग्रह गरे ।
प्रचण्डले साम्पाङलाई आफू र आफ्नो पार्टीको साथ र समर्थन रहेको जानकारी गराउँदै जनताको साथ र समर्थन पाइराख्न आग्रह पनि गरे । मेयर साम्पाङ्गको उक्त निम्तोलाई स्वीकार्दै प्रचण्ड आज धरानको सर्दु जलाधार क्षेत्रमा साम्पाङसँगै वृक्षरोपण कार्यक्रममा सहभागी हुने भएका हुन् ।
