माओवादीले बोलायो दुई मन्त्रीलाई फिर्ता, उनीहरुको ठाँउमा को कोलाई पठाउदै छ ?

१० भाद्र २०७९, शुक्रबार १४:०५

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले दुई मन्त्रीलाई फिर्ता बोलाएको छ ।

जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र अर्थमन्त्री विन्दमान विष्टलाई माओवादी केन्द्र कर्णाली प्रदेशले फिर्ता बोलाएको हो। माओवादीले दिएको जानकारी अनुसार प्रदेश सरकारलाई समावेशी बनाउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाइएको हो।

कृष्णा शाह र रातो कामीलाई उनीहरुको ठाउँमा पठाइने भएको छ । शाह जाजरकोटबाट समानुपातिक सांसद हुन भने कामी रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पार्टी केन्द्रको निर्णयअनुसार मन्त्री फेरबदल गरिएको पूर्व मन्त्री एवं माओवादी प्रदेशकी अध्यक्ष विमला केसीले जानकारी दिएकी छन् ।

प्रदेशकी अध्यक्ष केसीले भनिन्, ‘समावेशी सिद्धान्तको सुरुवात गर्ने माओवादी भएकाले सरकारलाई समावेशी गराउनका लागि विष्ट र सिंहलाई फिर्ता बोलाएर महिला सांसद शाह र रातो कामीलाई पठाउने निर्णय भएको हो ।’